संसद् अधिवेशन चल्दासम्म सांसदले उपत्यका छाड्न नपाउने, यी हुन् कांग्रेसका निर्णय


काठमाण्डु – नेपाली कांग्रेसले संसद् अधिवेशन चल्दासम्म सांसदहरूले उपत्यका छाड्न नपाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुञ्जेलसम्म काठमाण्डु नछाड्न निर्देशन दिएको छ ।

बैठकले यदि छोड्नै परे प्रमुख सचेत वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘यदि अत्यावश्यक जानै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ ।’

कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ । उनले भने, ‘सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरूले गम्भीरताका साथ उपस्थित हुने निर्णय भएको छ ।’

बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । विधेयक पारित गर्न संसद्मा रहेका अन्य राजनीतिक दललाई अपिल गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement