काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारमा सहभागी केही मन्त्रीहरूको भूमिका सन्तोषजनक नरहेको आरोप लगाएका छन् ।
पार्टी महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सरकारको सफलता/असफलतासँग कांग्रेसको छवि गाँसिएको बताए ।
‘वर्तमान सरकारको सफलता/असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको छ । सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टीपंक्तिमा देखिन्छ । पूरै ५ वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ तर अर्कोतर्फ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय नै छ तर केही मन्त्रीको भूमिका मन्त्रीका रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन ।’
सरकारमा सहभागिताको वर्षदिन पुग्नै लाग्दा सरकारको प्रभावकारिता र कमजोरीबारे खुलेर छलफल गर्नुपर्ने उनले बताए । कांग्रेसका मन्त्रीहरूले सम्हालेको मन्त्रालयको प्रगति र कमजोरीको समीक्षा गर्ने बेला भएको उनले बताए ।
वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको उनको दाबी छ । भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अपर्याप्त भए पनि सुशासनको दिशामा केही प्रयास भइरहेको देखिएको उनले बताए । महामन्त्री शर्माले जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमशः सम्हालिँदै सुधारोन्मुख दिशामा गएको बताए तर पनि वर्तमान सरकारले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन नसकेको उनले बताए ।
संघीयताको मर्म अनुरूप प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्त्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाइ संघीय सरकारबाट भएको उनले बताए ।




प्रतिक्रिया