हिन्दूराष्ट्रको पक्षमा संकलन भएका १ हजार ६३ हस्ताक्षर सभापति देउवालाई हस्तान्तरण

हिन्दूराष्ट्रको पक्षमा संकलन भएका १ हजार ६३ हस्ताक्षर सभापति देउवालाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापनाको पक्षमा गरिएको हस्ताक्षर सहितको प्रस्ताव सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

अभियानका संयोजक तथा केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका छन् । प्रस्तावमा १ हजार ६३ जनाको हस्ताक्षर गरिएको छ ।

पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्व सभामुख तथा पूर्व महामन्त्री तारानाथ रानाभाट लगायतका नेताहरू हस्ताक्षर अभियानमा सामेल भएका थिए । कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दूराष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए ।

भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको छ ।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दूराष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिएको भन्दै भण्डारीले आपत्ति जनाउँदै आएका छन् ।

महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभाहल नजिक धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपालको पक्षमा हस्ताक्षर संकलन गरेका छन् ।