काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले राज्य शक्तिको प्रभावमा परेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई मुद्दा नचलाएको आरोप लगाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै अख्तियारले राज्य शक्तिको प्रभावमा परेर पौडेललाई मुद्दा नचलाएको आरोप लगाउँदै बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिन गर्न माग गरेका छन् ।
प्रवक्ता शर्माले सरकारले ‘आफ्नालाई जोगाउने–अरुलाई फसाउने’ गरेको देखिएको उल्लेख गर्दै सरकारको त्यहीँ नियतको प्रभाव र दबाबमा अख्तियार पर्नु नै दुखद भएको बताए ।
कांग्रेसले उपसभापति विजयकुमार गच्छदार माथि अख्तियारले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक वदनियतले प्रेरित ठहर गरेको छ । नेपाली कांग्रेसका नेता र कार्यकर्ता माथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने श्रृङ्खलाका रुपमा उक्त घटनालाई लिएको जनाएको छ ।




प्रतिक्रिया