काठमाण्डु – संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको अर्काे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।
कांग्रेसको नाराबाजीपछि दुवै सदनका बैठक स्थगित भएका छन् ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेपछि स्थगित गरिएको छ । कांग्रेसले प्रतिनिधि सभामा अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्नेछ ।
यसैगरी, कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । मंगलबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका छन् ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद मात्रै दिने कार्यसूची रहेकाले सहज रूपमा बैठक सञ्चालन गर्न आग्रह गरेपनि अवरोध जारी राखिएको थियो ।
राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।




प्रतिक्रिया