कांग्रेसले शुक्रबार काठमाण्डुमा विरोध प्रदर्शन गर्ने, १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने

कांग्रेसले शुक्रबार काठमाण्डुमा विरोध प्रदर्शन गर्ने, १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले शुक्रबार काठमाण्डुमा विरोध प्रदर्शन गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदीय समिति गठन गरी छानबिनको माग गर्दै शुक्रबार काठमाडौंमा सडक प्रदर्शन गर्ने निर्णय बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।

बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रचार विभाग प्रमुख विश्वकर्माले सुरुवातमा कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गर्ने र त्यसपछि क्रमशस् अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने जानकारी दिए ।

शुक्रबार काठमाण्डुमा विरोध प्रदर्शन गर्न उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने निर्णय पनि कांग्रेसले गरेको छ । कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडकमा उत्रिन लागेको हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको कांग्रेसले अब सडक आन्दोलन गर्न लागेको हो ।

कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।