कांग्रेस व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानबाट पछि नहट्ने

कांग्रेस व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानबाट पछि नहट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको बचल अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर छानबिनको दायरामा ल्याउनु पर्ने कार्यदेशसहित संसदीय छानबिन समिति गठन गर्ने अडानबाट पछि नहट्ने भएको छ । आफूलाई भेट्न आफ्नै निवास बुढानीलकण्ठमा बिहान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको अडानबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीसँग देउवाको वार्तापछि कांग्रेसका नेताहरूको आन्तरिक छलफलले पनि कार्यादेशमा पार्टीको पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । बैठकपछि संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनाइएको कार्यदलका सदस्यसमेत रहेका पार्टी सहमहामन्त्री जीवन परियारले आफूहरूले पूरानो अडान कायमै राख्ने निर्णय गरेको जानकारी दिए ।

‘संसदीय छानबिन समितिको कार्यादेशमा पार्टीको पुरानो अडान कायमै राख्ने निर्णय हामीले गरेका छौँ । सभापतिज्यूले प्रधानमन्त्रीसँगको छलफलमा पनि त्यो जानकारी गराउनु भएको छ,’ सहमहामन्त्री परियारले भने ।

गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर मात्रै नपुग्ने भन्दै परियारले त्यहाँ संलग्न व्यक्तिहरु को–को हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै रहेको बताए ।

सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।

संसदीय छानबिन समिति बनाउन शीर्ष तहमा सहमति बने पनि त्यसको कार्यादेशमा सहमति जुट्न सकेको छैन । सत्ता पक्ष उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्न नसकिने बताउँदै आएको छ भने कांग्रेसले गृहमन्त्री लामिछानेको नाम राख्नै पर्ने अडानमा छ ।