काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसद्को संयुक्त सदनमा १५ जेठमा प्रस्तुत गरेको बजेटको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्ने निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद् भवनको आफ्नो कार्यकक्षमा दलको बैठक बोलाएका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाले सार्वजनिक गरेको कार्यतालिकामा ७ असारमा आर्थिक वर्षको बजेट पास गर्ने उल्लेख छ ।
बजेटमा सत्ता पक्षकै सांसदहरूले विरोध गरिरहेको बेलामा कांग्रेसले पास गर्न सहयोग गर्ने कि नगर्ने भनेर दलको बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बजेटमा प्रमुख सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरूले विरोध गरिरहेका छन् ।
विपक्षी दल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त बजेटको पुस्तिका संसद्को रोष्टममै च्याथेका थिए ।




प्रतिक्रिया