कांग्रेसबाट सरकारको नेतृत्व कृष्ण सिटौलाले गर्ने

कांग्रेसबाट सरकारको नेतृत्व कृष्ण सिटौलाले गर्ने

गृह मन्त्रालयमा सिटौला र लेखकको चाहना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्तासहकार्यको सहमति अनुरुप पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दुई दलबीच सोमबार राति प्रतिनिधिसभाको बाँकी कार्यकालमा आधा– आधा सरकारको नेतृत्व भागबण्डा गर्ने र पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति बनेको छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसले १० र एमालेले नौ मन्त्रालय पाउने सहमति पनि दुई दलबीच भएको छ ।

निकटस्थ स्रोतका अनुसार कांग्रेसबाट ओली नेतृत्वको सरकारमा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गर्ने अनौपचारिक सहमति शीर्ष तहमा भएको छ ।

सभापति देउवाले आफूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन चाहेको तर, राजनीतिक परिस्थितिले गर्दा नसकेकाले अहिले सरकारको नेतृत्वसहित गृह मन्त्रालय दिएर पठाउने सोचमा रहेको निकटस्थहरूलाई बताएका छन् ।

यता गृहमन्त्री बन्न अहिले प्रतिनिधि सभामा कांग्रेसको प्रमुख सचेतक रहेका रमेश लेखकले पनि इच्छा व्यक्त गरेका छन् । लेखक अहिले एमालेसँग गठबन्धन निर्माणका लागि खटिएका नेता हुन् । कांग्रेसबाट लेखक र एमालेबाट महासचिव शंकर पोखरेलले नै सहमतिको ड्राफ्ट तयार गरेका थिए ।

सिटौला र लेखकले नै गृहको चाहना राखेको तर कसलाई गृह दिने भन्ने नटुंगिएको देउवा निकट स्रोतले जानकारी दियो ।

‘सभापतिज्यू सिटौला दाईलाई सरकारको नेतृत्वसहित गृह मन्त्रालय दिएर सरकारमा पठाउने आफ्नो चाहना रहेको बताइरहनु भएको छ । लेखकज्यूले पनि गृहमा इच्छा व्यक्त गर्नु भएको छ । सरकारको नेतृत्व सिटौला दाइले गर्ने निश्चित हो, मन्त्रालय टुंगिसकेको छैन,’ देउवा निकट स्रोतले भन्यो ।

लेखक पनि मन्त्री बन्ने निश्चितजस्तै रहेको स्रोतले बतायो ।