काठमाण्डु – नेपाली कांग्रेसले १० भ्रातृ संस्थाको म्याद चैत मसान्तसम्म थप गरेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले १० भ्रातृ संस्थाको म्याद चैत मसान्तसम्म थप गर्ने निर्णय अनुमोदन गरेको हो।
कांग्रेसले गत असार १७ गते भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघलाई चैत मसान्तसम्म महाधिवेशन गर्ने गरी म्याद थप गरिएको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रातृ संस्थाको अधिवेशन गराउन छुट्टाछुट्टै निर्देशक समिति कांग्रेसले बनाएको छ । समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन गर्न पनि निर्देशन दिइएको बैठकपछि मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भ्रातृ संस्थाहरूको म्याद गत असार १५ गते सकिएको थियो। कांग्रेसले गत पुसमा महाधिवेशन गर्ने प्रयोजनका लागि भन्दै यी भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको थियो।
यी भ्रातृसंस्था लामो समयदेखि तदर्थ समितिको भरमा छन्।




प्रतिक्रिया