काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रक्रियामा जानुभन्दा पहिला नै उपसभामुख रानाले बर्हिगमनको बाटो रोज्दा उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिए । घिमिरेले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’
असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको कांग्रेसको ठहर छ ।
प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए । ‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’
उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ ।




प्रतिक्रिया