नेकपालाई कांग्रेसको चेतावनीः विहार र यूपीसँगको वैवाहिक सम्बन्ध नतोड !

नेकपालाई कांग्रेसको चेतावनीः विहार र यूपीसँगको वैवाहिक सम्बन्ध नतोड !


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षे प्रावधानमा गम्भीर असहमति प्रकट गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद जितेन्द्रनारायण देवले विहार र यूपीसँगको वैवाहिक सम्बन्ध नतोड्न नेकपालाई चेतावनी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले बिदेशी बुहारीलाई वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रावधान बहुमतले पारित गरेको थियो । त्यसमा कांग्रेस लगायत जनता समाजवादी पार्टीले गम्भीर असहमति जाएका छन् । समाजवादीका नेताहरुले यो प्रावधानले नेपाली युवालाई भारतले छोरी नदिनेसमेत बताएका छन् ।

‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने ? प्रगतिशील पार्टीले राख्ने मानसिकता यस्तो होइन। यो अत्यन्त मण्डले राष्ट्रवादी मानसिकता हो। प्रतिक्रान्तिकारी मानसिकता हो। पुनर्विचार होस्,’ सांसद देवले भने ।

सांसद देवले नेकपाले दंगा भड्काउने र मुलुकलाई विभाजनतिर लैजाने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘तपाईंहरूले अत्यन्त अदूरदर्शी, अपरिपक्क, यो मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले यो मुलुकलाई विभाजनतिर लैजाने निर्णय गर्नुभयो,’ उनले भने।

त्यस्तै उनले नेकपा चिनियाँ क्याम्पमा गएको बताउँदै उक्त निर्णय पुर्नविचार गर्न आग्रह गरेका छन् ।

‘तपाईंहरू ५० चोटि चिनियाँ कम्युनिष्ट पार्टीसँग मिटिङ गर्नुस्, कांग्रेसलाई भन्नु केही छैन,’ उनले भने, ‘तर हामी चिनियाँ क्याम्पमा गयौं भन्ने म्यासेज गइरहेको छ । के यसले आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’

सांसद देवले नेकपाको उक्त प्रस्तावबाट नेपाल र भारतबीच कल्चरमाथि आक्रमण गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

‘यो ֹसंस्कृतिले स्थापना गरेको सम्बन्ध हो कसैले तोड्न सक्दैन । भारतसँगको सम्बन्ध कट गर्ने गरी तपाईंहरू काम गर्दै हुनुहुन्छ,’ उनले भने ।

त्यस्तै उनले यही विषयले भोली राजनीतिक दुर्घटना भए नेकपा र कांग्रेस नै जेल जानुपर्ने चेतावनी दिएका छन् ।

‘बाई फोर्स भारतसँगको सम्बन्ध कट गर्ने भन्ने मानसिकता पालेर चिनियाँको झोलामा नेपाललाई लैजाने भन्ने मानसिकता पालेर क्लासिकल आइडोलोजीको आधारमा जुन काम गर्दै हुनुहुन्छ । भोलि राजनीतिक दुर्घटना भयो भने तपाईहरु मिलेर सँगै जेल जानुपर्छ’ नेता देवले भने, ‘वीरगञ्जदेखि राजविराजसम्म जुलुस निस्केको छ । कांग्रेसलाई हेप्ने । कांग्रेसलाई हेपेर जनतासमाजवादीलाई हेपेर राजनीति हुन्छ यो मुलुकमा ? सहमतिको राजनीति नतोड्नुस् । तपाईंहरू गलत बाटोमा जाँदै हुनुहुन्छ । उग्रबादमा फस्दै हुनुहुन्छ । कांग्रेस र अरू पार्टीसँग भिड्ने काम गर्दै हुनुहुन्छ ।’