काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ धारणा राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले माफी मागेका हुन् । यसअघि मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकमा उनको आलोचना भएपछि माफी माग्ने तयारी गरिएको थियो ।
आईतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताएका थिए ।
मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिन सके अर्थतन्त्र पनि सहयोग पुग्ने उनले बताए । उनले यौन व्यवसाय सम्बन्धी धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको बताए ।
माफी माग्दै उनले भने, ‘चैत ३ गते सभाको विशेष समयमा राखेका धारणाहरू मेरा व्यक्तिगत धारणाहरू हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरूले सम्मानित सदनका सदस्यहरू र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उहाँको सम्मान गर्दै क्षमायाचना गर्दछु ।’




प्रतिक्रिया