कांग्रेसका सात नेता शशांक निवासमा छलफल गर्दै

कांग्रेसका सात नेता शशांक निवासमा छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औं महाधिवेशनका विषयमा पार्टीका ७ नेताहरू एकसाथ छलफलमा जुट्दै छन् ।

केही समयअघि बिपी कोइराला पुत्र शशांक कोइराला, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिले सुरु गरेको छलफलमा पार्टीका अन्य चार नेता पनि थपिएका छन् ।

यी सातै नेताहरू बिहीबार बिहान शशांक निवास महाराजगन्जमा छलफल गर्दै छन् ।

बिहीबारको छलफलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विजय गच्छदार तथा प्रवक्ता प्रकाशशरण महत पनि सहभागी हुँदै छन् ।

यसअघि चैत १६ गते निधि निवासमा भएको छलफलमा महत सहभागी थिएनन् ।

उनीहरू पार्टीको आगामी १५ औँ महाधिवेशनका विषयमा छलफल गर्ने जनाइएको छ । उनीहरू मध्ये अधिकांश नेताहरू आगामी महाधिवेशनमा सभापतिका दाबेदार पनि हुन् ।

यसअघि पार्टीका सबै नेता तथा कार्यकर्तालाई समेट्दै अघि बढ्ने निष्कर्ष निकालेका उनीहरूले बिहीबारको छलफलमा पार्टीको आगामी महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा पनि छलफल गर्ने छन् ।

पार्टीका पदाधिकारीहरू विधान अनुसार महाधिवेशन गर्न तयार नरहेको बुझाइमा उनीहरूको छ । गत साउन र भदौंमा बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको टुंगो लगाउन महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो । तर, महामन्त्री थापाले सदस्यताको विषय टुंगो लगाउने गरी काम नगरेको ती नेताहरूको बुझाइ छ ।

महाधिवेशन समयमा गराउन दबाब बढाउँदै आफ्नो पक्षमा नेतृत्व ल्याउन यसअघि निधि, सिंह र कोइरालाले छलफल गरेका थिए ।

१४औं महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धी शेखर आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित भेटघाट र जिल्ला दौडाहामा जुटेका छन् ।