काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारको बचाउ गरिएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केही सांसदले सरकारको आलोचना गर्दा संस्थापन पक्षधर सांसदहरूले सरकारको बचाउ गरेका छन् ।
कांग्रेस सांसदहरूले गभर्नर लगायत विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको आरोप लगाउँदै बजेटको वितरण समान ढंगले हुनुपर्ने सुझाव दिएका थिए ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको जानकारी दिए । संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेका उनले बताए । प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उनले बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनले बताए ।
कांग्रेस बैठकको निष्कर्षले माओवादीको सक्रियतालाई निरर्थक बनाइदिएको छ ।




प्रतिक्रिया