कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीको कदमविरुद्ध के होला निर्णय ?

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीको कदमविरुद्ध के होला निर्णय ?


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

आजको बैठकले ओली सरकारका कदमविरूद्ध देशैभर आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि दलहरु आन्दोलनको कार्यक्रम र छलफलमा व्यस्त छन् ।

बुधबारको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको थियो ।

कांग्रेसले सोमबार गरेको सर्वदलीय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले संयुक्त रूपमा सरकारविरूद्ध आन्दोलनमा जानुपर्ने प्रस्ताव राखेका थिए ।