काठमाण्डु – नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिद्वारा गरिएको भनिएको प्रतिशोधपूर्ण र औचित्यहीन अनुशासनको कारबाही’का सन्दर्भमा सोमबार काठमाण्डुमा आयोजित विशेष भेलामा बोल्दै उनले ईश्वरभन्दा माथि कोही नहुने भन्नै सबैलाई धैर्य गर्न आग्रह गरे ।
पार्टी नेतृत्व फरक मत राख्नेहरूलाई सिध्याउने गरी अघि बढेको उनले बताए । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरूको संख्या न्युन हुँदै गएकोमा दु:ख व्यक्त गरे ।
कांग्रेसभित्रै मन नपर्ने मान्छेलाई टिकट दिनबाट वञ्चित गरिनु मात्र नभई झूटा आरोप लगाएर गिरफ्तार गराउने गरिएको समेत उनले बताए । उनले चुनावमा असहयोग गरेको भन्दै कसैको राजनीति यात्रा सिध्याउन खोेजेको समेत बताए ।
‘वसन्त भट्टराई आफ्नो जीवनको आहुती दिन तयार हुनुहुन्थ्यो । त्यस्तो मान्छेहरूलाई समानुपातिकबाट हटाएर २५ पल्टसम्म चुनाव हारेका नेताहरूलाई राज्यसत्तामा ल्याइयो । उनीहरूले डा.शेखर कोइरालाको गुटलाई वा फरक मत राख्नेहरूलाई राज्यसत्ताको दुरुपयोग गरेर धम्क्याएर थुनाउने काम गरियो,’ उनले अगाडि भने, ‘अदालत नभएको भए आज म तपाईंहरूको अघि हुने थिएन । अदालतको एउटा आदेशको कारणले म तपाईंहरूको अगाडि छु । न्यायाधीशले विवेक नपुर्याएको भए मलाई २ वर्षसम्म जेलमा थुनाउने योजना थियो ।’
विगतमा पूर्वको कांगे्रसलाई दुख्दा पश्चिमको कांग्रेसलाई दुख्थ्यो वा पीडा हुन्थ्यो तर आज पछिल्लो १० वर्षमा अवस्था बिग्रिएको उनले बताए ।
युवा नेता गुरुराज घिमिरेले कारवाहीको फाइल अघि नबढाउने भनेर पदाधिकारीबीच भएको सहमति उल्लघंन गर्दै अनुशासन समितिले चालेको कदम त्रुटिपूर्ण रहेको बताए ।
उनले कांग्रेसभित्र फरक मत राख्ने र महाधिवेशनमा असहयोग गरेको बहानामा अनुशासनको कारवाहीको डन्डा चलाउने काम अमान्य भएको बताए । हालै मात्र नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको थियो । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको थियो ।
सोही निर्णयविरुद्ध डा. शेखर कोइराला समूहका नेताहरूले चर्को विरोध गर्दै आइरहेका छन् । उनीहरूले देशव्यापी कार्यक्रमहरूको आयोजना गर्दै अनुशासनको कारवाही नमान्ने चेतावनी दिँदै आएका छन् ।




प्रतिक्रिया