काठमाण्डु– नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक अचानक स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज बस्ने भनिएको बैठक अन्तिम क्षणमा रोकिएको हो।
सभापति देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन, रुपन्देही–३ को आगामी उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बोलाएका थिए।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पनि आमन्त्रित गरिएको थियो। तर, बैठक कहिले हुने भन्नेबारे औपचारिक जानकारी दिइएको छैन।
यसबीचमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद अझै रिक्त छ। कुलिङ पिरियड विवादमा मुछिएपछि कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए।
नियमअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता रहेकाले आजै उम्मेदवारको नाम दिन सभामुख देवराज घिमिरे कांग्रेसको प्रतीक्षामा छन्।




प्रतिक्रिया