कांग्रेस केन्द्रीय कार्यालय आगजनीबाट १० करोड बराबरको क्षति

कांग्रेस केन्द्रीय कार्यालय आगजनीबाट १० करोड बराबरको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करीब १० करोड बराबरको क्षति भएको छ ।

नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको जानकारी दिँदै केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडले संरचनाहरू ध्वस्त अवस्थामा रहेका जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आतंककारीहरूले जलाएर ध्वस्त पारिएको छ । कुनै पनि सामान बचेको छैन । करीब १० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।’

उनले प्रस्तुत गरेको क्षति विवरणअनुसार सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको निवास बुढानिलकण्ठमा रहेको घरमा आगजनी, तोडफोड, लुटपाट गरी घरमा रहेका सभापति देउवा र आरजु राणा देउवाप्रति अमानवीय बर्बरतापूर्ण सांघातिक भौतिक आक्रमण भएको थियो । आरजु राणा देउवाको नाममा रहेको कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित घरमा समेत आगजनी तोडफोड गरी भवन रहेको स्थानको जमिनबाहेक केही पनि बाँकी नरहेको अवस्था छ ।

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी सदस्यहरूको व्यक्तिगत घर तथा सम्पत्तिको क्षति विवरणअनुसार उपसभापति पूर्णबहादुर खड्काको काठमाण्डुमा रहेको घर तोडफोड गरी सामग्री बाहिर निकाली आगजनी, लुटपाट गरी सिसा तथा फर्निचरहरू जलाएर ध्वस्त पारिएको छ । सुर्खेतस्थित खड्का निवासमा आगजनी र तोडफोड गरी ध्वस्त गरिएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाको काठमाण्डुको रातोपुलमा रहेको घर आगजनी, तोडफोड, लुटपाट गरी पूर्ण रूपमा ध्वस्त रहेको, एउटा गाडी र ३ वटा मोटरसाइकल पूर्णरूपमा आगजनी गरी ध्वस्त रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको भाडाको घरमा तोडफोड गरी फर्निचर लगायत सबै सामग्रीहरू बाहिर निकालेर जलाएको, घरमा सीसाहरू तोडफोड गरिएको छ । झापास्थित मेचीनगर नगरपालिकामा परिवार रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरी सम्पूर्ण सामाग्री पूर्णरूपमा ध्वस्त पारिएको विश्वकर्माले बताए ।