कांग्रेसमा महाधिवेशन विवाद : दिनदिनै छलफलमा सभापति देउवा

कांग्रेसमा महाधिवेशन विवाद : दिनदिनै छलफलमा सभापति देउवा

गुटगत छलफल पनि समानान्तर रूपमा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसभित्र जारी महाधिवेशनको विवाद नसल्टिएपछि सभापति शेरबहादुर देउवा आफै सक्रिय भएका छन् । विवाद मिलाउन उनी शीर्ष नेताहरूसँग दैनिक छलफलमा जुटेका छन् ।

महाधिवेशनको विवाद मिलाउन सभापति देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, रमेश लेखकसहितका पदाधिकारी र पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई पनि बोलाइएको छ ।

असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि एक महिनासम्म पार्टीका गतिविधिमा नदेखिएका देउवाले पार्टीभित्र महाधिवेशनबारेको विवाद गहिरिँदै गएपछि पुनः सक्रिय भएका हुन् ।

यसअघि उनले बिहीबार, शुक्रबार र शनिबार कोइरालासतिह महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

ती छलफलहरूका कुनै निष्कर्ष नआएपछि उनले दुबैतर्फका नेताहरूलाई भेटमा बोलाएका हुन् ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला र रमेश लेखक सहभागी हुनेछन्।

कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नुपर्ने बताइरहेका छन् । निर्वाचन अगाडि महाधिवेशन हुनु नपर्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

संस्थापन पक्षमा अरु नेताहरू पनि निर्वाचन पछाडि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । तर पार्टीको विवाद समाधान गर्न मध्यमार्गी नेताहरूको प्रयासपछि उनीहरू निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न राजी भएका छन् ।

सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा नेताहरूले गरेका छन् । जारी विवादबारे सहमति नबन्दा केन्द्रीय समिति बैठक पटकपटक सर्दै आएको छ ।

खाँडले बोलाए छुट्टै भेला

नियमित महाधिवेशन पक्षधरले पनि छुट्टै भेला गर्ने भएको छ। भेला दिउँसो २ बजे मध्यवानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्याकेटमा बस्नेगरी भेला बोलाइएको छ ।

भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्य उपस्थित हुने छन् ।

समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न बालकृष्ण खाँणको अगुवाइमा भेला बस्न लागेको हो । यो समूह विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ। नियमित महाधिवेशन वैशाखमा गरिपर्ने उनीहरूको अडान छ ।