नेपालको राजनीतिक इतिहासमा केही व्यक्तित्वहरू समयको सीमाभन्दा पर अमर हुन्छन् । त्यो अमरत्व उनीहरूको पद, शक्ति वा व्यक्तित्वले होइन, जीवनका मूल्य र आचरणले प्राप्त हुन्छ । त्यस्तै एक नाम हो, कृष्णप्रसाद भट्टराई (किसुनजी) ।
उनले राजनीतिलाई सत्ताको खेल होइन, सेवाको साधनाका रूपमा ग्रहण गरे । उनको सादगी, सत्यनिष्ठा र धर्मनिष्ठ नेतृत्वले नेपाली राजनीतिमा नैतिकताको अद्वितीय मिसाल कायम गर्यो ।
किसुनजीको जीवन राजनीतिमा सादगी र इमान्दारिताको प्रत्यक्ष रूप थियो । प्रधानमन्त्री हुँदा पनि उनले सरल जीवनशैली, न्यून भोगबिलास र उच्च नैतिकता कायम राखे ।
सरकारको ऐश्वर्यभन्दा जनताको भरोसालाई ठूलो मानेर उनले पदलाई शक्ति होइन, कर्तव्यको जिम्मेवारीका रूपमा लिएका थिए ।
उनले बारम्बार दोहोर्याउने शब्द थिए, ‘राजनीति शक्ति होइन, सेवा हो ।’ यो वाक्य मात्र होइन, उनको सम्पूर्ण जीवनको दर्शन थियो । जनआन्दोलन–२०४६ पछि बनेको अन्तरिम सरकारको नेतृत्व गर्दै उनले लोकतन्त्रको जग सादगीमै राखे ।
किसुनजीको निधनपछि राजनीतिमा सादगीको चर्चा हराउँदै गएको अनुभूति हुन थालेको थियो । तर सत्यनिष्ठा र सादगी कुनै व्यक्तिमा सीमित मूल्य होइन, यो त नेतृत्वको आत्मा हो, जसले राजनीतिलाई जनताको भरोसासँग बाँधेर राख्छ । किसुनजीले बोकेको त्यो मूल्यपथमा केही नेताहरू अझै अडिग छन् ।
त्यसमध्ये हालका कार्यबाहक सभापति पूर्णबहादुर खड्का त्यस नैतिक र सादगीपूर्ण परम्पराका जीवित उत्तराधिकारीका रूपमा देखिन्छन् ।
पूर्णबहादुर खड्काको राजनीतिक यात्रा : सिद्धान्त र कर्मको संगम
नेपालको राजनीतिक इतिहासमा पूर्णबहादुर खड्काको नाम एउटा सादगी, निष्ठा र कर्मयोगको पर्यायका रूपमा स्मरण गरिन्छ । उनी त्यस्ता नेतामध्ये एक हुन्, जसका लागि राजनीति सत्ताको साधन होइन, समाज र राष्ट्रप्रतिको दायित्व थियो । सिद्धान्तमा अडिगता र व्यवहारमा विनम्रता उनको पहिचान बनेको छ ।
पूर्णबहादुर खड्काको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो । सामाजिक अन्याय र असमानता विरुद्धको आवाज उनका विचारको बीउ बने । यही बीउले पछि लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारमा केन्द्रित एउटा प्रगतिशील सोचको रूप लिएको मान्न सकिन्छ ।
नेपाली कांग्रेसका सिद्धान्तप्रति निष्ठावान् रहँदै उनले पार्टीभित्र लोकतान्त्रिक आचारसंहिताको अभ्यास गर्न निरन्तर जोड दिए । आन्दोलनका कठिन वर्षहरूमा पनि उनले संयम र विवेक गुमाएनन् ।
खड्काको व्यक्तित्वमा सादगी र सत्यनिष्ठा प्रमुख गुणका रूपमा देखा पर्थे । पदमा रहँदा पनि उनले वैभव वा प्रदर्शनको बाटो रोजेनन् । जनतासँगको सम्बन्धमा विनम्रता, सरोकार र जिम्मेवारीको भावना उनको राजनीतिक शैलीको मूल तत्व थियो । यही कारण उनको लोकप्रियता केवल समर्थक वर्गभित्र सीमित रहेन, फरक विचारधाराका नेताहरूबीच पनि उनीप्रति सम्मान रह्यो ।
सिद्धान्तमा अडिग, व्यवहारमा लचिलो
खड्का राजनीतिमा सिद्धान्तका सशक्त मान्यताका पक्षधर हुन कठोरतामा होइन, सहमतिमा विश्वास गरी आजको परिस्थतिको समय अनुसारको राजनीति चल्नुपर्छ भन्ने मान्यता रहेको छ । पार्टीभित्र मतभेदका क्षणहरूमा पनि उनले संवाद र समन्वयलाई प्राथमिकता दिएका छन् । उनले बुझ्थे, लोकतन्त्रको सबलता विविध विचारको सहअस्तित्वमा निहित छ ।
उनको निर्णयमा भावनाभन्दा विवेक र दीर्घदृष्टिको प्र्रधानता पाइन्छ । यही कारण उनी अनेक संकट र विवादबीच पनि सन्तुलित व्यक्तित्वका रूपमा परिचित रहँदै आएका छन् ।
पूर्णबहादुर खड्काको राजनीतिक जीवन कर्मप्रधान छ । मन्त्री, सांसद वा पार्टी पदमा रहेर उनले पदको प्रतिष्ठा होइन, जिम्मेवारीको गाम्भीर्य देखाए । जनताको जीवनस्तर सुधार र विकासको विषयमा उनको ध्यान सधैं केन्द्रित रह्यो ।
उनले राजनीति भनेको केवल भाषण र सिद्धान्त होइन, व्यवहार र सेवा हो भन्ने विश्वास राखे । यो सोचले उनलाई व्यवहारिक र जनमुखी नेता बनाएको छ ।
खड्काको सम्पूर्ण जीवन सिद्धान्त र कर्मको अद्भुत संगम रहेको छ । सिद्धान्तले उनलाई दिशा दियो, कर्मले त्यस दिशामा अघि बढ्ने ऊर्जा । उनी राजनीतिक कर्मयोगी भए, जसका लागि आदर्श र व्यवहारबीच कुनै दूरी राखेका छैनन् ।
आजका बदलिँदा राजनीतिक मूल्य र संस्कृतिका बीचमा पूर्णबहादुर खड्का जस्ता नेताको राजनीतिक शुद्धता र निष्ठाको पाठ सिकाउँछ ।
दलीय व्यवस्था र आजको राजनीतिमा चुनौती
नेपालको लोकतान्त्रिक यात्राको मेरुदण्ड नै दलीय व्यवस्था हो । राजनीतिक दलहरूले जनताको आकांक्षा, अधिकार र आवाजलाई राज्यका नीतिमा रूपान्तरण गर्ने माध्यमको रूपमा काम गर्नुपर्ने हो । तर आजको नेपाली राजनीतिक परिदृश्यमा दलिय व्यवस्थामाथि प्रश्न उठ्न थालेका छन् । जनतामा राजनीतिक दलप्रति अविश्वास बढ्दो छ र लोकतान्त्रिक मूल्य–मान्यतामाथि पनि खतरा देखिन थालेको छ ।
राजनीतिक दलहरू लोकतान्त्रिक अभ्यासका आधारशिला हुनुपर्ने हो । तर अहिले दलभित्र आन्तरिक लोकतन्त्रको अभाव छ । नेतृत्वमा पुरानै अनुहारहरूको वर्चस्व, विचारभन्दा व्यक्ति–पूजाको प्रवृत्ति र पद–लालसाले पार्टीभित्र असन्तुष्टि बढाएको छ । युवापुस्ता पछाडि धकेलिँदा नयाँ विचार र ऊर्जा राजनीतिमा प्रवेश गर्न सकिरहेको छैन र युवाका विचारहरू कुण्ठित भएका छन ।
नेपालका दलहरू सिद्धान्तका भन्दा पनि सत्ताका आधारमा बाँडिएका छन् । सरकार गठन र विघटनको खेलमा जनताका मुद्दा हराइरहेका छन् । जब सत्ताको अवसर आउँछ, दलहरू मिल्छन्, जब सत्ताबाट बाहिरिन्छन्, फुट्छन् । यस्तो व्यवहारले स्थायित्व र नीति–निरन्तरतामा गम्भीर असर पारेको छ ।
दलहरूको चरित्र अब जनसेवा होइन, अवसरको खोजमा केन्द्रित हुँदै गएको छ । उम्मेदवारी चयनदेखि नीति निर्माणसम्म पैसाको प्रभाव बढेको छ । विचार, नीति र सिद्धान्त गौण बन्दै गएका छन् । दलहरूबीचको प्रतिस्पर्धा विकास र सुशासनमा होइन, पहुँच र लाभमा केन्द्रित देखिन्छ ।
दलहरूले युवा पुस्तालाई नेतृत्वमा ल्याउने नारा दिए पनि व्यवहारमा त्यस्तो देखिँदैन । पुरानै अनुहारहरूको पुनरावृत्तिले युवाहरूमा राजनीतिप्रति असन्तुष्टि र वैकल्पिक सोचको आवश्यकता तीव्र बनाएको छ । राजनीतिक दलहरूले समयानुकूल सोच नअपनाए, भविष्यमा जनसमर्थन गुमाउने निश्चित छ ।
अब दलहरूले आत्मसमीक्षा र रूपान्तरणको बाटो लिनु अत्यावश्यक छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नुपर्छ ।
पारदर्शिता र जवाफदेहिताको संस्कार विकास गर्नुपर्छ । युवापुस्तालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्छ । सिद्धान्त, विचार र जनसेवामुखी राजनीति पुन:स्थापित गर्नुपर्छ ।
काँग्रेस महाधिवेशनमा निष्ठाको परीक्षा
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा फेरि एकपटक पार्टीभित्र निष्ठा, सिद्धान्त र लोकतान्त्रिक मूल्यहरूको प्रश्न पुन: उठेको छ । लोकतान्त्रिक आन्दोलनको मेरुदण्डका रूपमा चिनिने कांग्रेस पार्टी पछिल्ला वर्षहरूमा व्यक्तिवाद, गुटबन्दी र स्वार्थकेन्द्रित प्रवृत्तिबाट ग्रस्त बन्दै गएको छ । महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन, काँग्रेसभित्रको वैचारिक स्पष्टता र संगठनात्मक निष्ठाको वास्तविक परीक्षा हो ।
काँग्रेसको गौरवमय इतिहासले देशलाई लोकतन्त्र, सहिष्णुता र राष्ट्रिय एकताको दिशा दिएको छ । तर अहिले निष्ठा भन्ने शब्दको अर्थ नै बदलिएको देखिन्छ । सिद्धान्त र मूल्यप्रतिको प्रतिबद्धताभन्दा बढी कुनै समूह वा नेताप्रतिको वफादारी निष्ठाको पर्याय बन्न पुगेको छ । यही प्रवृत्तिले काँग्रेसलाई संस्थागत पार्टीभन्दा बढी व्यक्तिकेन्द्रित समूहमा परिणत गर्दै लगेको छ ।
लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक हुन्छ । तर प्रतिस्पर्धा विचारका आधारमा हुनुपर्छ, व्यक्तित्वका आधारमा होइन । काँग्रेसका अधिवेशनहरूमा मतभेदलाई वैचारिक बहसको रूपमा लिई पराजयलाई पनि लोकतान्त्रिक संस्कारका रूपमा स्वीकार गर्न सक्नु नै निष्ठाको असली पहिचान हो । दुर्भाग्यवश, पछिल्लो समय गुटीय सोचले यही संस्कार कमजोर बनाइरहेको छ ।
काँग्रेसका पुराना इतिहासमा जेल–जवान, बन्दुक र प्रतिबन्धबीच पनि सिद्धान्त र निष्ठाको जरो गहिरो थियो । ती कार्यकर्ताहरूको त्याग र आदर्शकै कारण पार्टीले देशको राजनीतिक नक्सा परिवर्तन गर्न सकेको थियो । तर आजको पुस्ताले त्यो उत्तराधिकारलाई व्यवहारमा उतार्न नसकेको महसूस हुन थालेको छ । सिद्धान्तभन्दा पद, विचारभन्दा अवसर र निष्ठाभन्दा शक्ति प्राथमिक बन्न थालेको यथार्थ काँग्रेसका लागि आत्ममन्थनको विषय हो ।
आगामी अधिवेशनले काँग्रेसलाई आत्मपरीक्षणको मौका प्रदान गर्नेछ । यो केवल नयाँ नेतृत्व चयनको मञ्च होइन, संगठनलाई पुन: आदर्श र सिद्धान्तको बाटोमा फर्काउने अवसर पनि हो । प्रत्येक सदस्य र नेताले आफ्नै मनमा सोध्नुपर्नेछ, ‘के म लोकतान्त्रिक मूल्यप्रति निष्ठावान् छु वा केवल नेताको अनुयायी बनेको छु ?’
निष्ठाको वास्तविक अर्थ पार्टीका सिद्धान्त, नीति र जनसेवाप्रतिको अडानमा निहित हुन्छ । यदि अधिवेशनले यही सन्देश पुन: सुदृढ गर्न सक्यो भने काँग्रेसले जनविश्वास पुन: प्राप्त गर्नेछ । तर यदि गुटीय स्वार्थले फेरि वर्चस्व जमायो भने लोकतान्त्रिक आन्दोलनको अग्रदूत पार्टीको अस्मिता नै कमजोर बन्नेछ ।
समयले अहिले काँग्रेसका सबै तहका नेताहरू र कार्यकर्ताहरूको निष्ठा र चरित्र दुवैको परीक्षा लिँदैछ । परिणाम जसको जसरी आए पनि यो परीक्षा पास गर्न सक्नेहरूले मात्र काँग्रेसको भविष्य सुनिश्चित गर्न सक्नेछन् ।
किसुनजीले देखाएको सादगी र सत्यनिष्ठाको बाटो नेपालका सबै पुस्ताका लागि दिशानिर्देशक हो । पूर्णबहादुर खड्काजस्ता नेताहरूले त्यो परम्परालाई जीवन्त राख्दै नैतिक नेतृत्वको सम्भावना पुनर्जीवित गरेका छन् । राजनीति तब मात्र अर्थपूर्ण हुन्छ, जब नेतृत्व चरित्रवान् हुन्छ । किसुनजीदेखि पूर्णबहादुरसम्मको यात्रा त्यही चरित्र र मूल्यको निरन्तरता हो । दलीय व्यवस्थालाई सफल र जनमुखी बनाउन राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्न जरुरी छ । पारदर्शिता, जवाफदेहिता, आन्तरिक लोकतन्त्र र नीति आधारित राजनीति पुनर्स्थापना गर्न सके मात्र जनताको भरोसा फर्कन सक्छ ।
दलीय व्यवस्थाको अर्थ केवल सत्ताको खेल होइन, राष्ट्रको भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो । आजको चुनौती यही हो, दलहरूले जनताको आशा, संविधानको भावना र लोकतान्त्रिक मूल्यप्रति निष्ठा देखाउने कि सत्ता स्वार्थको खेलमै सीमित रहनेछ ।




प्रतिक्रिया