समानुपातिक सूचीले कांग्रेसमा विद्रोह : ‘भारतमा व्यापार गर्ने कसरी उम्मेदवार बने ?’

समानुपातिक सूचीले कांग्रेसमा विद्रोह : ‘भारतमा व्यापार गर्ने कसरी उम्मेदवार बने ?’


सर्लाही – नेपाली कांग्रेस सर्लाहीले केन्द्रले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाएको छ ।

विशेषगरी सर्लाहीबाट समानुपातिकतर्फ समेटिएका मो. अन्सार खाँको नामलाई लिएर जिल्ला नेतृत्वले गम्भीर प्रश्न उठाएको हो ।

सिफारिस नै नभएका व्यक्ति सूचीमा जिल्ला कार्यबाहक सभापति डा. सरोज कुमारद्वारा जारी विज्ञप्तिमा खाँ जिल्लाको कुनै पनि समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै सक्रिय नदेखिएको दाबी गरिएको छ । विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसिरहेका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक उम्मेदवार बने भन्दै जिल्ला कार्यसमितिले शंकास्पद निर्णयको संज्ञा दिएको छ ।

कार्यकर्ताको मनोबल गिरेको दाबी पार्टी संगठन विस्तारमा अहोरात्र खटिने निष्ठावान कार्यकर्ताको आत्मबल गिराउने गरी केन्द्रले पहुँच, पैसा र पावरका भरमा बाहिरी व्यक्तिलाई भित्र्याएको सर्लाही कांग्रेसको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्षाैंदेखि पार्टीमा जीवन समर्पण गर्ने साथीहरूको मनोभावना कुल्चिने काम भएको छ, यसले साथीहरूमा विद्रोहको भावना जागृत गराएको छ ।’

नामावली सच्याउन माग चौतर्फी राजनीतिक आक्रमण भइरहेका बेला यस्ता निर्णयले संगठनलाई थप क्षति पुर्‍याउने निश्चित रहेको भन्दै सर्लाही कांग्रेसले नामावली यथाशीघ्र सच्याउन माग गरेको छ । अवसरवादी व्यक्तिहरूलाई पहिचान गरी आगामी दिनमा जिल्लामा खटिएका साथीहरूलाई प्राथमिकतामा राख्न समेत केन्द्रलाई सचेत गराइएको छ ।

ध्यानाकर्षण पत्रको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सानेपा र मधेश प्रदेश कार्यसमिति जनकपुरधामलाई समेत पठाइएको छ ।