काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेससहित दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । अब दलहरू प्रत्यक्ष तर्फको निर्वाचनको तयारीमा लाग्ने बेला आएको छ । तर नेपाली कांग्रेसमा नयाँ लफडा ब्युतिएको छ ।
नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुने अवस्था नभएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको विशेष महाधिवेशन गराउनतिर लागेका छन् । तर सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनावअघि महाधिवेशनको नाम सुन्न चाहिरहेका छैनन् ।
सभापति देउवा र कार्यबाहक सभापति खड्का चुनाव केन्द्रित हुनुपर्ने तयारीमा रहेका बेला महामन्त्रीद्वय चुनाव छाडेर पार्टी महाधिवेशन केन्द्रित भएका छन् । महामन्त्री शर्माले त आसन्न चुनावमा उम्मेदवार नबन्ने सार्वजनिक घोषणा नै गरेका छन् भने अर्का महामन्त्री थापाले पनि पार्टी महाधिवेशन नभए उम्मेदवार नबन्ने जानकारी पार्टी बैठकमा दिएको चर्चा छ ।
बुधबार ४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले विशेष महाधिवेशनको आवश्यकता औंल्याएका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले उत्तरदायित्वबोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको बिन्दु खोजिरहेको छ । यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानत: बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो । अत: हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौं । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’
जेनजी आन्दोलन अघिसम्म रणनीतिक भूमिकामा रहेका महामन्त्री थापा जेनजी आन्दोलनपछि कठोरताका साथ पार्टी महाधिवेशनको विषय उठाइरहेका छन् । पार्टी संस्थापन पक्षको सहमति विना नै महामन्त्री थापाले विशेष महाधिवेशनतर्फ अगाडि बढेको घोषणा गरेका छन् । यसले कांग्रेसलाई चुनावभन्दा पनि नयाँ विवादतिर डोर्याएको छ ।
महामन्त्रीद्वयको एकतर्फी तयारी
चुनावअघि नियमित महाधिवेशन हुने सम्भावना नदेखिएपछि महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । काठमाण्डुको भृकुटीमण्डपमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न ‘हल बुकिङ’ गरिएको छ ।
यसअघि विशेष महाधिवेशनका लागि बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेको दाबी गरिएको थियो । सोही शृंखला पुन: ब्युतिएर कांग्रेसको एउटा पक्ष विशेष महाधिवेशनतिर सोझिएको छ ।
महामन्त्री पक्षले विशेष महाधिवेशनको तयारी थालेपछि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले बिहीबार साँझ महाराजगञ्जमा महामन्त्रीद्वयलाई छलफल गर्ने भएका छन् । देउवा चुनावअघि महाधिवेशन गराउने पक्षमा छैनन् भने महामन्त्रीद्वय जसरी पनि महाधिवेशन गर्ने पक्षमा छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विधानको धारा १७ को २ कार्यान्वयन गर्न विशेष महाधिवेशन आयोजना गर्न लागेका बताइएको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरिसकेका थिए ।
गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएकाले कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रावधान छ ।
कांग्रेसको मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट १५औं महाधिवेशन कार्यतालिका पारित भए पनि कार्यतालिकाअनुसार काम नभएकाले महामन्त्रीद्वय अब विशेष महाधिवेशन गर्न तम्सिएका छन् ।
सभापति नेतृत्वको संस्थापन पक्ष आमचुनावतिर र महामन्त्रीद्वय नेतृत्वको संस्थापनइतर पक्ष विशेष महाधिवेशनतिर सोझिँदा कांग्रेसमा विवाद चर्किने देखिएको छ ।




प्रतिक्रिया