काठमाण्डु – नेपाली कांग्रेस आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनभन्दा पनि निर्वाचनमा केन्द्रित भएर नेताहरूले आफ्नो धारणा राखे ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सिट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए ।
त्यसअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले सहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए ।
बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुन: नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा प्रस्ताव दर्ता रहेकाले निष्क्रिय नहुने दावी गरेका छन् ।




प्रतिक्रिया