काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधान र सर्वसम्मत निर्णयभन्दा बाहिर गएर गरिने कुनै पनि महाधिवेशन वा अधिवेशनका गतिविधिहरू अवैध हुने स्पष्ट पारेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा १५औं महाधिवेशनको नियमित प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा अर्को विशेष महाधिवेशनको माग गर्नुको कुनै अर्थ नरहेको उल्लेख गरिएको छ ।
विधान विपरीतका गतिविधिमा नलाग्न अपिल विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले कुनै पनि तहको अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र भएको स्मरण गराएको छ ।
‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाएको अधिवेशनका नाममा गरिने गतिविधि विधान विपरीत हुने हुँदा त्यसमा संलग्न नहुन पार्टीका सबै तहका नेता, कार्यकर्ता, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिलाई हार्दिक अपिल गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
महाधिवेशनको तयारी र निर्वाचनको चटारो पार्टीले १५औं महाधिवेशनका लागि पहिलो चरणको काम अर्थात् क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यलाई निरन्तरता दिएको छ । कतिपय विदेशस्थित जनसम्पर्क समितिहरूले अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत चयन गरिसकेको अवस्था छ । अर्कोतर्फ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाइसकिएको र राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता भइसकेको सन्दर्भमा पार्टी अहिले पूर्ण रूपमा निर्वाचन केन्द्रित भएको कांग्रेसले जनाएको छ ।
निर्वाचन अभियानमा लाग्न आह्वान कांग्रेसले आफ्ना सबै तहका समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र शुभेच्छुकहरूलाई पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राख्दै चुनावी अभियानमा सशक्त रूपमा लाग्न आह्वान गरेको छ । विशेष महाधिवेशन जस्ता आन्तरिक विवादमा नअल्झिएर राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्न कांग्रेसले निर्देशन दिएको छ ।






प्रतिक्रिया