कांग्रेस विशेष महाधिवेशनमा ३६ सय प्रतिनिधिलाई आवास र खानाको बन्दोबस्त

कांग्रेस विशेष महाधिवेशनमा ३६ सय प्रतिनिधिलाई आवास र खानाको बन्दोबस्त


काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आईतबारदेखि गर्ने विशेष महाधिवेशनका लागि काठमाण्डुका फरक–फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ ।

महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा बन्दोबस्तबारे जानकारी दिइएको हो ।

महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाण्डुका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बूक गरिएको छ ।

सुन्धारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा १–१ हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप २००–२०० प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने गरी प्रबन्ध मिलाइएको धमलाले जानकारी दिए ।

विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि होटलमा बसोबासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ ।

यसैगरी विदेशबाट आउने प्रतिनिधिहरूका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपाङ्गता भएका व्यक्तिहरूका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिहरूका लागि पुस २७ गते आईतबारका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हलभित्रै हुनेछ । पुस २८ गते बिहान खाजा, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूले १ हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने जानकारी दिए ।