काठमाण्डु – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिका बाबजुद अगाडि बढेका विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले नेतृत्व नछाडे निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने अडान लिएका छन् ।
मंगलबार साँझ विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पार्टीको संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भएको भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नहुनु स्वीकार्य नरहेको बताए । उनले सभापति देउवाले पार्टी नेतृत्वसँगै सक्रिय राजनीतिबाट समेत बिदा लिनुपर्ने बताए ।
‘अरु सबै विषयमा सहमति पुगेको भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति भएको छैन । नेतृत्व परिवर्तन नभएसम्म हाम्रो लागि स्वीकार्य छैन । विशेष महाधिवेशनको अपनत्व लिन उहाँहरू तयार भए पनि नेतृत्व छोड्न तयार हुनुभएको छैन । आज राति सहमति भयो भने सहमति हुन्छ, नभए निर्वाचनको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छाडेर पार्टी र व्यक्तित्वबारे लेखनमा बाँकी जीवन व्याप्त गर्नुपर्नेमा जोड दिए । पार्टीको दोस्रो विशेष महाधिवेशनमा मंगलबारको बन्दसत्र सकिँदासम्म महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएका छन् ।




प्रतिक्रिया