जनकपुरधाम – नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएकोमा कांग्रेस धनुषाले खुसीयाली मनाएको छ ।
शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूले खुसीयाली मनाउँदै मिठाइ पनि बाँडेका छन् ।
सो अवसरमा नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवं जनकपुरधामका मेयर मनोजकुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखे । उनले नेपाली कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको बताए ।
गगन थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिसाबले काम गरेको नगर सभापति साहको भनाइ छ । उनले धनुषा क्षेत्र नम्बर ३ बाट पहिला पनि एकल नाम विमलेन्द्र निधिको सिफारिस गरिएकोमा उनले गगन थापासँग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए । उनले पार्टीका शीर्ष नेताहरूलाई अभिभावकको रूपमा राखेर संरक्षकसरह सम्मान दिने बताए ।
नगर सभापति साहले पार्टीमा सबै जनाको पदोन्नति हुनुपर्ने धारणा राखे । उनले कुनै पनि पदमा एकलौटी बसिरहनु उचित नरहेको बताए । नेपाली कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा नगर सभापति साहले जोड दिए ।
नेपाली कांग्रेस धनुषाका उपसभापति गणश झाले चुनाव चिह्न र झण्डाको विषयमा झगडा र विरोध नगर्न आग्रह गरे । उनले नेपाली कांग्रेसका केही नेता कार्यकर्ताहरूमा तत्काल असन्तुष्टि भए पनि नियमसम्मत गरिएका निर्णयहरूलाई सबैले मान्नुपर्ने धारणा राखे । उनले १ वर्षभित्र फेरि अधिवेशन हुने जानकारी दिए ।
देशमा अन्य पार्टीहरू प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफैंभित्र मनमुटाव राख्न नहुने उनले बताए । उनले सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधि सभाको चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।




प्रतिक्रिया