विराटनगर – नेपाली कांग्रेसको आधिकारिक फेसबूक पेजको व्यवस्थापन अन्तत: पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ ।
शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबूक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रण समेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ ।
विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबूक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप लाग्दै आएको थियो । सो पेजबाट प्राय: शेरबहादुर देउवा समूहका गतिविधि र सूचनामात्र प्रकाशित हुने गरेको भन्दै आलोचना पनि हुँदै आएको थियो ।
पार्टी सभापति गगन थापा शुक्रबारदेखि केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन् । पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
विहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान सम्बन्धी सूचना पार्टी सचिव प्रकाश शर्माद्वारा कांग्रेसको आधिकारिक फेसबूक पेजमार्फत सार्वजनिक गरिएको छ । सूचनाअनुसार केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलोपटक पार्टी कार्यालयमा बस्ने औपचारिक बैठक हो ।
यसअघि विवादका कारण कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण लगायतका निर्णय पार्टी कार्यालय बाहिरैबाट गर्दै आएको थियो । पार्टी फुटको संघारमा पुगेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो गतिविधिले कांग्रेस क्रमश: एकताबद्ध हुन खोजिरहेको संकेत देखिएको नेताहरू बताउँछन् ।
बिहीबार मात्रै मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता डा.शेखर कोइरालाले कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको दाबी गरेका थिए । विशेष महाधिवेशनलाई स्वीकार गरिसकेका कोइराला निर्वाचनमा पनि सबै एक भएर जानुपर्ने पक्षमा दृढ देखिएका छन् ।
वेबसाइटमाथि पुरानैको कब्जा
कांग्रेसको आधिकारिक वेबसाइट भने अझै अद्यावधिक हुन सकेको छैन । वेबसाइटमा हाल पनि सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङको नाम राखिएको छ । २ महामन्त्री र सहमहामन्त्रीको १ पद रिक्त देखाइएको छ ।
पुस ३० गते संस्थापन भनिएको समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फमुल्लाह मन्सुरमाथि गरेको कारबाहीपछि उनीहरूको नाम वेबसाइटबाट हटाइएको थियो ।
अदालतको आदेशको प्रतिक्षा
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मान्यता दिएपछि देउवा–शेखर समूह सर्वोच्च अदालत पुगेको थियो । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अदालतको अन्तिम आदेशको प्रतीक्षामा कांग्रेसका नेताहरू पुगेका छन् ।
यसैबिच देउवा–शेखर समूहले गगन थापाकै हस्ताक्षर भएको प्रतिनिधिसभा निर्वाचनको टिकट लिएको घटनालाई कांग्रेसभित्र एकताको सन्देशका रूपमा हेरिएको देखिन्छ ।




प्रतिक्रिया