काठमाण्डु – नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
पार्टी सभापति गगनकुमार थापाले पौडेलले गत माघ ८ गते पेश गरेको राजीनामा बुधबार स्वीकृत गरेका हुन् ।
विक्रम संवत् २०७३ वैशाख २७ गतेदेखि मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले झण्डै १० वर्षसम्म पार्टीको विधान, नियमावली र नीति अनुसार आफ्नो कर्तव्य निर्वाह गरेका थिए । राजीनामा स्वीकृत गर्दै सभापति थापाले पौडेलको कार्यकालमा पार्टीलाई पुर्याएको योगदानका लागि पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे ।
सभापति थापाले उनको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि पार्टीलाई सहयोग रहने विश्वास व्यक्त गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुलाललाई कार्यबाहकको जिम्मेवारी मुख्य सचिवको पद रिक्त भएपछि सभापति थापाले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यबाहक मुख्य सचिवको जिम्मेवारी सुम्पिएका छन् ।
पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (१०), नियमावली २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुञ्जेलका लागि दुलाललाई कार्यबाहकको जिम्मेवारी तोकिएको छ ।
पार्टी सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा नयाँ कार्यबाहक मुख्य सचिवको नियुक्ति बुधबारैदेखि लागू भएको जनाइएको छ ।





प्रतिक्रिया