काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले आईतबार २ निर्देशिका पारित गरेको छ ।
आईतबार सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकले उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले पेश गरेको प्रस्तावहरू पारित गरेको छ ।
बैठकले प्रतिनिधिसभा निर्वाचन र पार्टीका सार्वजनिक कार्यक्रम सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ तथा ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन् ।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा र योगेन्द्र चौधरी तथा पार्टी प्रवक्ता देवराज चालिसेले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकका निर्णयहरू पार्टीको आगामी निर्वाचन तयारी र संगठनात्मक अनुशासन सुदृढीकरणमा केन्द्रित रहेको जनाइएको छ ।





प्रतिक्रिया