काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस पदाधिकारी बैठक मुख्यतः पार्टीको १४ औं महाधिवेशनको एजेण्डामा केन्द्रित हुने एक नेताले जानकारी दिए ।आगामी वर्षको भदौमा कांग्रेसले महाधिवेशनको तयारी गरेको छ । त्यस्तै बैठकमा सरकार गठन लगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।
पदाधिकारी बैठकको पूर्वसन्ध्यामा हिजो आइतबार रामचन्द्र पौडेल पक्षधर नेताहरूको छुट्टै बैठक बसेको थियो । उक्त बैठकले सभापति शेरबहादुर देउवाका अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । त्यस्तै उक्त बैठकले ओलीको विकल्पमा कांग्रेस, माओवादी, जसपाको गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दवाव दिने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वससम्मतिबाट निर्णर्य लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् ।
हराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रूपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो ।
पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा अनिर्णयको बन्दीमा पार्टीलाई नराख्न दबाब दिने भएको छ । कांग्रेसले निर्णय गरे जसपाको सिंगो पार्टीले साथ दिने बुझाइ पौडेल पक्षको छ । वरिष्ठ नेता पौडेलले सत्ता समीकरण र पार्टी महाधिवेशनका विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल हुने बताए ।
‘यो अन्योलमा मुलुकलाई धेरै समय राख्नु हुन्न । कांग्रेस जस्तो पार्टी निकासका लागि निर्णयमा पुग्नुपर्छ,’ पौडेलले भने, ‘कसरी निकास खोज्न सकिन्छ भनेर नै हाम्रो छलफल भएको हो ।’ उनले क्रियाशील सदस्यता, पार्टीको समायोजन र आफूहरूले उठाएको १६ बुँदे मागका विषयमा समेत छलफल गरेको बताए ।




प्रतिक्रिया