एमाले-माओवादी एकता : कांग्रेसका लागि ‘सरप्राइज’

एमाले-माओवादी एकता : कांग्रेसका लागि ‘सरप्राइज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- दुई कम्युनिस्ट शक्तिबीचको एकतालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अप्रत्यक्ष रूपबाट ‘सरप्राइज’ एकताका रूपमा लिएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघिसम्म आफूसँगै सत्ता सहयात्री रहेको माओवादी केन्द्र एकैपटक निर्वाचनका बेला नेकपा एमालेसँगको चुनावी तालमेलमा जोडिन पुगेपछि ‘सरप्राइज’ पाएको कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्रबीच ठोस एकता भएपछि झनै ‘सरप्राइज’ पाएको हो ।

कांग्रेसका एक नेताले भने ‘दुई दलबीच चुनावी तालमेल हुँदा समेत एकैपटक त्यस्तो होला भन्ने लागेको थिएन, अहिले पनि होला कि नहोला भन्ने थियो, भएछ ।’

तर, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने दुई दलबीच भएको एकतालाई आश्चर्यजनक रूपमा आफूले नलिएको बताए । ‘उहाँहरू प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनदेखि नै तालमेलसहित सँगै हुनुन्थ्यो, यसमा कुनै आश्चर्य छैन, बरु एकता हुँदा हामीलाई फाइदा केके कुरामा छ अब त्यता हेर्ने हो,’ सहमहामन्त्री महतले भनेकाे खबर अाजकाे राजधानी दैनिकमा छ ।

उनले दुई दलबीचको एकतापछि कांग्रेस झनै बलियो प्रतिपक्षी बनेको समेत दाबी गरे । नेता महतले धेरै असहज अवस्थासँग कांग्रेसले संघर्ष गरेको इतिहास रहेको भन्दै कुनै पनि एकतासँग कांग्रेस नझुक्ने प्रस्ट पारे । उनले कांग्रेस लोकतान्त्रिक संस्कारलाई सशक्त बनाउन सक्रिय रहने भन्दै लोकतन्त्रमाथि खतरा आउने अवस्थामा प्रतिवादमा उत्रनसमेत पछि नहट्ने उल्लेख गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एकताबाट बनेको दलमा नवीन दम्भ सिर्जना भएको बताए । उनले नयाँ बनेको पार्टी मनस्थितिगत इमानदारीबाट अघि बढे सहयोग गर्नेसमेत स्पष्ट पारे ।

‘एकतापछि उहाँहरूमा नवीन दम्भ सुरु भएको छ, हिजो सत्ताका लागि भएको द्वन्द्व अब सत्ता दम्भमा परिणत नहोस् हामी त्यही चाहन्छौं,’ एकतापछि मनस्थितिमा समेत इमानदारी आओस्,’ प्रवक्ता शर्माले भने ।

नेताहरूले संसदीय अभ्यासमा अभ्यस्त हुने बटमलाइनमा कम्युनिस्ट शक्तिहरू एक हुनु सकारात्मक भएको पनि बताएका छन् । उनीहरूले दुई दलबीचको एकताका लागि शुभकामनासमेत दिएका छन् ।