काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोलि बुधबार पनि बस्ने भएको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको हो ।
धुम्बाराहीको होटल स्मार्टमा बसेको बैठकमा फागुन २१ गते सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल भइरहेको छ ।
कांग्रेसका नेता मानबहादुर नेपालीका अनुसार बैठकमा करीब ८३ जना केन्द्रीय नेताहरूको सहभागिता छ ।
उनले भने, ‘केन्द्रीय सदस्यज्यूहरू करीब ८३ जनाको उपस्थितिमा बस्यो र भोलि पजि बैठक निरन्तर जारी रहनेछ । बैठकमा १५ जना केन्द्रीय सदस्य साथीहरूले आफ्नो धारणा राख्नुभयो । विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिको वैधानिकता दिएको विषयलाई निर्वाचनपछि सर्वोच्च अदालतले फैसला नगरेसम्म पार्टीको आन्तरिक विषयलाई हामीले स्थगन राखेका थियौं ।’
पार्टीभित्र वार्ता, संवाद तथा सहमतिको कुनै प्रयासहरू नभएको उनले बताए ।
बैठकमा नेता डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला लगायत नेताहरू सहभागी थिए ।




प्रतिक्रिया