काठमाण्डु – नेपाली कांग्रेसले संवत् २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको सम्बन्धमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न एक समिति गठन गरेको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारसमक्ष बुझाएको प्रतिवेदनलाई सूक्ष्म रूपमा अध्ययन गरी ७ दिनभित्र पार्टीलाई राय, सल्लाह र सुझाव सहितको प्रतिवेदन बुझाउन वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिलाई बिहीबार पूर्णता दिइएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्ययन समितिमा खनालको नेतृत्वमा कानुन र सामाजिक क्षेत्रका विज्ञहरूलाई समेटिएको छ । समितिमा सदस्यका रूपमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आरसी) र युवा अभियन्ता यजश्वी राई रहेका छन् ।
पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई दिइएको जिम्मेवारी र कार्यदेशबारे जनाएका छन् ।
समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा उल्लेखित निष्कर्षहरू, आन्दोलनका क्रममा भएका क्षति र त्यसको राजनीतिक एवं कानुनी पक्षको गहन विश्लेषण गर्नेछ । विशेषगरी युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन र त्यसपछिको परिस्थितिप्रति पार्टीको आधिकारिक धारणा तय गर्न समिति बनाइएको छ ।





प्रतिक्रिया