काठमाण्डु – नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै बागलुङमा होली खेल्ने क्रममा आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । आइतबार होली मेलामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो । उनी दुबै जना कांग्रेसका नेता हुन् ।
‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ शर्माले जारी विज्ञप्तिमा भनेका छन् ।
‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शर्माले भनेका छन् ।
घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारवाही गर्न कांग्रेसले माग गरेको छ ।




प्रतिक्रिया