काठमाण्डु– नेपाली कांग्रेसले सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर डोजर चलाउने कार्यको विरोध जनाएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर डोजर चलाउने कार्यलाई सरकारको क्रुर र अमानवीय कदम भनेको हो ।
संविधान र कानुनले देखाएको बाटोलाई पूर्णतः उपेक्षा गर्दै संवेदनशील विषयलाई बलपूर्वक र अमानवीय ढङ्गले समाधान गर्न खोज्नु विडम्बनापूर्ण भएको कांग्रेसको भनाइ छ।
यससँगै कांग्रेसले सुकुम्वासी वस्तीहरूबाट बलपूर्वक विस्थापित गरी हाल ‘होल्डिङ सेन्टर’ तथा अस्थायी आश्रयस्थलमा राखिएका नागरिकको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विस्थापित सुकुम्वासीलाई राखिएका होल्डिङ सेन्टरहरूको स्थलगत वस्तुस्थिति अध्ययन गर्न कांग्रेसले तत्काल एक विशेष अनुगमन टोली गठन गर्ने पनि निर्णय गरेको छ।
यस्तै बैठकले लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेकोमा आपत्ति जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक लिएको छ ।
‘नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीन बीच भएको सहमतिप्रति नेपाली कांग्रेसको गभ्भीर ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुर र कालापानी नेपाली भूमि हो। यसबारे नेपाली कांग्रेसले स्पष्ट धारणा राख्दै आएको छ । सरकारको कूटनीतिक नोटलाई सकारात्मक लिएको छ । बैठकपछि सहमहामन्त्री उदयशमशेर जबराले भने ।










प्रतिक्रिया