काठमाण्डु – नेपाली काँग्रेसले बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।
बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका थिए । नेपाली कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मआलोचना गर्न निर्देशन दिएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ’नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’
‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन,’ विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया