कांग्रेसले सदस्यता अद्यावधिकबारे गण्डकी र मधेशमा अन्तरक्रिया गर्दै, महामन्त्री सहभागी हुने

कांग्रेसले सदस्यता अद्यावधिकबारे गण्डकी र मधेशमा अन्तरक्रिया गर्दै, महामन्त्री सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमलाई तीव्रता दिएको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सातै प्रदेशमा आयोजना गर्ने अभियानअन्तर्गत बाँकी रहेका गण्डकी र मधेश प्रदेशमा आगामी जेठ ८ र ९ गते कार्यक्रम गर्ने तय गरेको हो ।

पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा दुवै प्रदेशमा अन्तरक्रिया हुनेछ ।

गण्डकी प्रदेशमा जेठ ८ गते पोखरामा र मधेश प्रदेशमा २०८३ जेठ ९ गते जनकपुरमा अन्तरक्रिया हुनेछ । यसअघि नै कर्णाली, लुम्बिनी, कोशी र बागमती प्रदेशमा यस्ता कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । बाँकी रहेको सुदूरपश्चिम प्रदेशको कार्यक्रमबारे भने पछि जानकारी गराइने कांग्रेसले जनाएको छ ।

अन्तरक्रियामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, जरा अभियानका केन्द्रीय प्रतिनिधिहरू, प्रदेश कार्यसमितिका पदाधिकारीहरू र जिल्ला सभापतिहरूको सहभागिता रहनेछ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू र उनीहरूका साथमा १–१ जना प्रविधि विज्ञ तथा कार्यक्रम हुने जिल्लाका पालिका सभापतिहरूलाई पनि सहभागी गराइने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले प्रविधिमैत्री सदस्यता व्यवस्थापनलाई जोड दिँदै क्षेत्रीय सभापतिहरूसँगै प्रविधि विज्ञलाई समेत अनिवार्य सहभागी गराउन निर्देशन दिएको छ । सम्बन्धित प्रदेश कार्यसमितिलाई कार्यक्रमको समन्वय र सहजीकरणका लागि केन्द्रले अनुरोध गरेको छ ।