काठमाण्डु– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने भएको छ।
आइतबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो।
बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा राखेका थिए ।
यस्तै बैठकमा मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो।
साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
यसबाहेक बैठकले मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने निर्णय गरेको छ । आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने जनाएको छ ।




प्रतिक्रिया