कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, अगुवाइ गर्दै शशांक

कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, अगुवाइ गर्दै शशांक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशनको तयारी अघि बढाउने भएको छ ।

संस्थापनइतर पक्षको महाधिवेशन तयारीको नेतृत्व डा. शशांक कोइरालाले गर्ने भएका छन् ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. कोइरालाले शनिबार प्रेस विज्ञप्तिमार्फत छुट्टै कार्यतालिका सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि पार्टीको विधान र संविधानअनुसार सकिन लागेको बताए । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसलाई थप सुदृढ र व्यवस्थित बनाउन महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ ।

कोइरालाले कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले सञ्चालन गर्ने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले आयोजना गर्ने १५औँ महाधिवेशनको तयारीमा जुट्न उनले सबै तहका पार्टी नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

उनका अनुसार १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिनेछ । त्यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठन लगायतका आवश्यक प्रक्रिया पूर्वनिर्धारित कार्यतालिकाअनुसार अघि बढाइनेछ ।

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा अदालतबाट न्याय पाउनेमा विश्वस्त रहेको पनि कोइरालाले बताएका छन् । आवेग, उत्तेजना र षड्यन्त्रको राजनीति नगरी संयमता र धैर्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५औँ महाधिवेशन आयोजना गर्ने दाबी गरेका छन् ।

यसैबिच डा. कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । उनले बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई मानवीय सेवामा सक्रिय हुन आह्वान गरेका छन् ।