काठमाण्डु – नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने १५औँ महाधिवेशनको प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा आईतबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
बैठकले असोज ३ र ४ गते वडा अधिवेशनबाट सुरु हुने महाधिवेशन प्रक्रिया असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा आयोजना हुने जानकारी गराएको छ ।
बैठकले असोज १६ गते दिउँसो १ बजे खुलामञ्चमा उद्घाटन सत्र सुरु हुने जनाएको छ । महाधिवेशनलाई पार्टीको सांगठनिक र राजनीतिक जीवनको नियमित प्रक्रिया मात्र नभई महाउत्सवका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरिएको छ ।
आ–आफ्नो तहले विधानबमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्दै निर्वाचन समितिसँग समन्वय गरी तहगत अधिवेशन सफल बनाउन सबै तहका कार्यसमितिलाई बैठकले निर्देशन दिएको छ । तोकिएको जिम्मेवारी पूरा नगरे विधानबमोजिम वैकल्पिक व्यवस्था गरिने पनि कांग्रेसले जनाएको छ ।
महाधिवेशन प्रक्रिया अघि बढाउने क्रममा सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय रहेका सबै तहका कार्यसमिति तथा पार्टीभित्र संवाद र सहमतिका लागि प्रयास गर्ने सदस्य, समर्थक र शुभेच्छुकप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ ।
कांग्रेसले विशेष महाधिवेशनपछि भएको निर्वाचनमा सबैलाई समेट्ने प्रयास गरिएको र त्यसपछि विधान, प्रचलित कानुन तथा संविधानमा भएको व्यवस्था र विशेष महाधिवेशनको म्यान्डेटअनुसार २०८२ चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता अद्यावधिक गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको जनाएको छ ।
क्रियाशील सदस्य अद्यावधिक प्रक्रियामा कोही पनि नछुटून् भन्ने उद्देश्यले पटक–पटक समयावधि थप तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको कांग्रेसले जनाएको छ । यस क्रममा विशेष महाधिवेशनमा सहभागी नभएका पार्टीका धेरै सदस्यसमेत केन्द्रदेखि वडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै बैठकले उनीहरूको भूमिकाको सम्मान गरेको छ ।
कांग्रेसले असन्तुष्ट तथा छुटेका सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने उद्देश्यले यसअघि गरेको निर्णयअनुसार सदस्यता व्यवस्थापनमा छुट भएका क्रियाशील सदस्यलाई निश्चित अवस्थाबाहेक महाधिवेशन प्रक्रियाबाट वञ्चित नगरिने व्यवस्था गरेको स्मरण गराएको छ । पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनबमोजिम पार्टी सदस्य बन्न नमिल्ने व्यक्तिबाहेक अन्य छुटेका क्रियाशील सदस्यलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नदिने निर्णय गरिएको थिएन ।
बैठकले महाधिवेशन प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक महाउत्सवसमेत भएकाले सबैको सहज र उत्साहपूर्ण सहभागिताका लागि पार्टीभित्र संवाद, सहमति र सहकार्यको अधिकतम प्रयास गर्नु केन्द्रीय कार्यसमितिको जिम्मेवारी भएको जनाएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति र अधिवेशन व्यवस्थापन समिति लगायतका संयन्त्रमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न विभिन्न विकल्पमा लचकताका साथ काम गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा उल्लेख गर्दै कुनै असहमति भए त्यसलाई राख्ने र समाधान खोज्ने उपयुक्त स्थान पनि महाधिवेशन नै भएको जनाएको छ । पार्टीमा रहन चाहने प्रत्येक सदस्यले महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने वातावरण बनाउनुपर्नेमा जोड दिँदै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने सबै पार्टी सदस्यप्रति बैठकले सम्मान व्यक्त गरेको छ ।
विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघि पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमिति सदस्यको हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनसहितको धारा ४ को उपधारा ९ बमोजिम महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली सभापति गगनकुमार थापासमक्ष प्रस्तुत गरेकोमा उक्त नामावली स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराएका थिए ।
बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला पन्त र योगेन्द्र चौधरी तथा सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसले लाखौँ सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासलाई पार्टीको शक्ति भन्दै असोज ३ गते वडा तहबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म काठमाण्डुको खुलामञ्चमा हुने १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण सदस्य, समर्थक तथा शुभेच्छुकलाई पुन: आह्वान गरेको छ ।







प्रतिक्रिया