काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनका प्रतिनिधिले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने भएको छ ।
महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू काठमाण्डु आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार उद्घाटनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूको रजिस्ट्रेसनका लागि प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रवक्ता चालिसेले कांग्रेसको १५औँ महाधिवेशनलाई नेता चयनमा मात्र सीमित नराखी नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न भइरहेको बताए । यसबाट पार्टीलाई संस्थागत र सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
उनका अनुसार उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय गर्नेछ । विधान संशोधन समितिले तयार पारेको तथा केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पद थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हललाई रहने उनले बताए ।
प्रवक्ता चालिसेले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने जानकारी दिए । उम्मेदवारी दर्ता हुनुअघि नै विधान संशोधनको प्रक्रिया पूरा हुने उनले बताए । नेतृत्व चयनका लागि भने मतपत्रमार्फत निर्वाचन हुने उनको भनाइ छ ।
असोज १८ गते आईतबार महाधिवेशन उद्घाटनपछि सुरु हुने बन्दसत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरिनेछ । सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेश गर्ने प्रवक्ता चालिसेले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाण्डु आउने क्रम जारी छ । कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।




प्रतिक्रिया