काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेल फराकिलो अग्रतासहित अघि बढेका छन्।
शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको मतगणनामा उनीहरूले पकड बनाउँदै लगेका हुन् ।
७२२ मत गणना हुँदा खुला उपसभापतितर्फ भण्डारीले ३८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले २१४ मत पाएका छन्।
गोविन्द भट्टराईले १६९, दीपक गिरीले १५९, सुरेन्द्रराज पाण्डेले १५८, धनराज गुरुङले १२२ र प्रा.डा. चन्द्रमोहन यादवले ९१ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले २१२ मतसहित अग्रता लिएका छन्। जीवन परियारले १७७, फरमुल्लाह मन्सुरले १००, सीता गुरुङले ८५ र रञ्जित कर्णले ६६ मत पाएका छन्। यस समूहबाट एक जना उपसभापति निर्वाचित हुनेछन्।
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ४०३ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। अमरसिंह पुन मगर २८७ मतसहित दोस्रो स्थानमा छन्।
उदयशमशेर राणाले २१९, डा. सुनिलकुमार शर्माले १८९, गुरुराज घिमिरेले ११४, नैनसिंह महरले ८७, डा. सन्तोष उपाध्यायले १३ र शंकर तिवारीले ११ मत प्राप्त गरेका छन्। खुला महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला पन्तले ३२७ मतसहित अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय डिनाले २९६ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८२ मत पाएकी छन्। महिला महामन्त्रीमा एक जना निर्वाचित हुनेछन्।
मतगणना जारी रहेकाले उपसभापति र महामन्त्री पदको अन्तिम परिणाम आउन अझै समय लाग्नेछ।



प्रतिक्रिया