काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला अधिवेशन हुँदैछ । डडेलधुरामा स्थापनइतर पक्षको सहमति बिना नै जिल्ला अधिवेशन हुन लागेको हो । उक्त अधिवेशनबाट परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउद जिल्ला सभापति बन्न लागेका छन् ।
सभापतिको लागि मेयर साउदको मात्र उम्मेदवारी परेकाले उनिनै जिल्ला सभापति बन्नेमा कुनै दुईमत छैन । हाल परशुराम नगरपालिकाका मेयर रहेका साउद देउवा निकट हुन् । यता, संस्थापनइतर नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल सहितका नेता कार्यकर्ता मंसिर १ गतेदेखि रिले अनसनमा छन्।
नगरप्रमुख साउदले कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको बताएका थिए । डडेल्धुरामा पछिल्लो समय नेपाली काँग्रेस तिन समूहमा विभाजित भएको छ ।
जिल्लामा रहेको पार्टीको गुटलाई एकताका लागि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेको साउदको भनाइ थियो । यसभन्दा अघि मंसिर ३ गते भएको प्रदेश क्षेत्रको अधिवेशनमा पनि देउवा निकट निर्वाचित भएका छन् । यता जिल्ला सभापति मल्लले भने एक पक्षियरुपमा गरेको अधिवेशनको कुनै मान्यता नहुने बताए ।
पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा केहि दिनदेखि अनशन जारी राखेका मल्लले काठमाण्डुपाटीसँगको कुराकानीमा भने, ‘हामी त यता पार्टी कार्यालय सानेपामा अनशनमा छौँ । अब उता जिल्लामा यदि सभापतिमा कोही चयन भएछ भने पनि त्यसको कुनै अर्थ हुँदैन । सभापतिमा चयन भएको व्यक्ति जिल्लाको नभइ गुटको सभापति पक्कै बन्नुहुन्छ ।’
नगरप्रमुख साउद जिल्ला सभापतिमा चयन हुनुभयो भने तपाई के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मल्लले भने, ‘यदि साउदज्यू सभापति बन्नु भयो भने नेपाली कांग्रेसको हैन, उहाँ गुटको सभापति बन्नुहुन्छ । हामी उहाँलाई कुनै पनि हालतमा सभापति मान्न सक्दैँनौ ।’ त्यसैगरी आफुहरुको पक्षबाट जिल्ला सभापतिमा भाग नलिएको पनि मल्लले प्रष्ट पारे ।
‘पूर्ण रुपमा नेपाली कांग्रसको विधान, नियमावली स्वयम् केन्द्रिय सभापति देउवाले नै दस्तखत गरेर पठाउनु भएको निर्वाचन निर्देशिकाका खिलापमा जुन एउटा गटुको अधिवेशन भइरहेको छ । त्यसमा अब हामीले उम्मेदवारी दिने त कुरै भएन । अहिले जुन अधिवेशन भइरहेको छ । त्यो एउटा एउटा गटुको अधिवेशन हो । यस विरुद्ध हामी चुप लागेर बस्दैनौँ,’ उनले भने ।
नेपाली कांग्रेस १४ औँ प्रदेश महाधिवेशनमा होमिएका बेला देउवाकै गृहजिल्लाका जिल्ला सभापति मल्ललगायत कार्यकर्ताहरुले माग पुरा नभए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । त्यसैगरी सत्ता र बलको प्रयोगमा देउवाले आफुहरुमाथि दमन गरेको समेत मल्लको आरोप छ ।




प्रतिक्रिया