कांग्रेसको चर्को असहमतिपछि मोरङ प्रहरी प्रमुखमा सरुवा भएका एसपी लिम्बुको काज दुई दिनमै रद्द

कांग्रेसको चर्को असहमतिपछि मोरङ प्रहरी प्रमुखमा सरुवा भएका एसपी लिम्बुको काज दुई दिनमै रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका मोरङका नेताहरू र कांग्रेस कोशी प्रदेशका सांसदहरूले असहमति जनाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा काज सरुवा भएका प्रहरी उपरीक्षक राजन लिम्बुको काज रद्द भएको छ ।

यसअघि मोरङ प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी उपरीक्षक नवराज कार्कीले आर्थिक अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको भन्दै जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तान्दै २ कात्तिकमा लिम्बुलाई नयाँ प्रमुख बनाएर लिम्बुलाई पठाउने निर्णय महानिरीक्षक बसन्तबहादु्र कुँवरले गरेका थिए ।

तर, निर्णयमा कांग्रेसका नेताहरूले चर्को असन्तुष्टि जनाएपछि महानिरीक्षक कुँवरले आफ्नो निर्णय ३ दिनमै रद्द गरेर प्रहरी उपरीक्षक नारायण चिमोरियालाई मोरङको नयाँ प्रहरी प्रमुख बनाउने निर्णय लिएका हुन् ।

लिम्बु ताप्लेजुङको प्रहरी प्रमुख हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँग विवाद भएको थियो । सांसद हाङगामले लिम्बुलाई धम्कीसमेत दिएका थिए । त्यसबेलादेखि नै लिम्बुसँग कांग्रेसको कोशी प्रदेश नेतृत्व असन्तुष्ट छ । फेरि प्रदेशको मुख्यालय रहेको मोरङमा लिम्बुलाई नै प्रहरी प्रमुख बनाएर पठाउन लागेपछि कांग्रेस नेताहङले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक कुँवरसँग असन्तुष्टि जनाएका थिए ।

उनीहरूले लिम्बुलाई बहिस्कार गर्नेसम्मको चेतावनी गृहमन्त्री लेखकलाई दिएको मोरङका कांग्रेस एक नेताले जानकारी दिए । गृहमन्त्री लेखक कांग्रेस नेता हुन् । त्यसपछि गृहमन्त्री लेखकको निर्देशनमा महानिरीक्षक कुँवरले आफ्नो निर्णय परिवर्तन गरेको प्रहरी मुख्यालय स्रोतले जानकारी दियो ।

लिम्बु वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) भएकाले पनि कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका बताइ्रन्छ ।

अहिले काज सरुवा भएका चिमोरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए । चिमोरिया झापाका स्थानीय हुन् ।

यसअघिका मोरङ प्रहरी प्रमुख कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।