काठमाण्डु – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहिबेरअघि सुरु भएको बैठकमा विशेषगरि तीनवटा एजेण्डामा छलफल हुने बताइएको छ ।
बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् । त्यसपछि ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ ।
ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छान्न संसदीय बोर्ड गठन गर्नुपर्ने काँग्रेसको विधान भएकाले बैठकमा त्यसबारे समेत छलफल गर्ने काँग्रेसको तयारी छ ।
साथै महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिलाई पुर्णता दिन सदस्यहरुको नाम छनोट गर्ने काँग्रेसले जनाएको छ । त्यस्तै बैठकमा आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सैद्धान्तिक निर्णय पनि गरिने छलफलमा सहभागी नेताहरुले बताएका छन् ।




प्रतिक्रिया