काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्।
सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए।
बैठकमा पत्रकार पक्राउ गरिएको विषय न्यायालयसँग सम्बन्धित विषय र बिचौलियासँग न्यायाधीशहरूको साडघाट लगायतका विषयमा कांग्रेस लगायत अरु विपक्षी दलहरुले गम्भीर ध्यानाकर्षण गराएका थिए।
संसद बैठक बोलाउनका लागि सभामुख डोलप्रसाद अर्याललाई भेटेर पनि दबाब दिने आजको छलफलमा सहमति जुटेको बताइन्छ ।
थापाका अनुसार अर्यालसँग प्रमुख प्रतिपक्षी दलसहित विपक्षीहरूले चाँडै भेट्दै छन्।
आजको बैठकमा एमालेको तर्फबाट नेत्री पद्मा अर्याल, कांग्रेसको तर्फबाट भिष्मराज आङ्देम्बे सहित वासना थापा, राप्रपाबाट खुश्बु ओली,नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल , जनता समाजवादी पार्टीबाट महन्त ठाकुर लगायतका नेताहरू सहभागी थिए।


प्रतिक्रिया