काठमाण्डु – संघीय संसद्मा पार्टीले गरिरहेको अवरोधलाई निरन्तरता दिने कि नयाँ रणनीतिसाथ अघि बढ्ने भन्नेबारे धारणा बनाउन नेपाली कांग्रेसको संसदीय दल बैठक बसिरहेको छ ।
संघीय संसद भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकमा लिने तय भएको विश्वासको मत प्रयोजनार्थ बस्ने बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारेमा छलफल भइरहेको एक नेताले जानकारी दिए । बैठकमा सहभागी ति नेताका अनुसार सबै नेताले बैठक चल्न दिन नहुने धारणा राखिरहेका छन् ।
यसअघि पार्टी सभापति तथा संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमिति बैठक बसेको थियो।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।
कांग्रेसले संसदीय दलमा छलफल गरेर आगामी रणनीति तय गर्न लागेको छ।




प्रतिक्रिया