काठमाडौं – नेपाली कांग्रेसभित्र भुसको आगोझैं सल्किरहेको गुटगत विवाद मंसिर १४ गते उपनिर्वाचन सम्पन्न भएपछि छरप्रस्ट भयो । उपनिर्वाचनमा असर पर्ने भनेर गुमसुम पारिएको विवादलाई पौडेल पक्षले सतहमा ल्याए ।
पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पेश हुनुपर्ने माग गर्दै बैठक बहिष्कार गर्न थालेको पौडेल समूहलाई गलाउन सभापति देउवाले पुस ११ गते बहुमतका आधारमा महाधिवेशनको मिति घोषणा गरे । सँगसँगै बहुमतकै आधारमा विभागको संख्या बढाउने निर्णय समेत गरियो । पटक–पटक सहमतिका लागि भएका प्रयास र बैठक सफल नभएपछि देउवाले बहुमतको सहारा लिएका थिए ।
केन्द्रीय समिति बैठकको निर्णयबाट पौडेल समूह झन् चिढियो । पौडेल समूहमा उनी मात्रै एक्ला छैनन्, महामन्त्री शशांक कोइरालादेखि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासम्म देउवाको कदमको विरोधमा छन् । पौडेल समूहले आफ्नो शक्ति देखाउन पार्टी कार्यालय सानेपामै आफूपक्षीय जिल्ला सभापतिको भेला राखे । देशभरका ७७ मध्ये अधिकांश ४६ जिल्ला सभापतिको सहभागिता रहेको भेलालाई पौडेल समूहले शक्ति प्रदर्शनको रुपमा उपयोग ग¥यो ।
सभापति देउवामाथि दबाब बढाउन पौडेल समूहले गरेको जिल्ला सभापतिको भेलाले कति काम ग¥यो ? देउवामाथि दबाब प¥यो ? पौडेल पक्षको कार्यक्रम सकिएपछि सभापति देउवाले जिल्ला सभापतिलाई निजी निवास बुढानिलकण्ठमा बोलाएर ‘भेलामा आफूलाई किन नबोलाएको’ भनेर असन्तुष्टि पोखे । निर्वाचित जिल्ला सभापतिहरूलाई देउवाले अर्काे प्रश्न राखे, ‘जिल्लामा तपाईंहरूसँग हारेकाहरूले छुट्टै भेला बोलाए भने तपाईंलाई कस्तो लाग्ला ?’
देउवा पक्ष वार्ता र छलफलका लागि खुला रहेको बेला पौडेल समूहले छुट्टै भेला गरेपछि सभापति देउवा आक्रोशित बनेका छन् । पौडेलले बहुमतका आधारमा भएका निर्णय खारेज हुनुपर्ने माग राखेको छ । शुक्रबार प्रजातान्त्रिक विचार समाजका पदाधिकारीसँगको भेटमा देउवाले भने, ‘हारेको सभापति पौडेलले बोलाएको भेला वैध छ ? म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’
पौडेल समूहले अनावश्यक विवाद सिर्जना गरेर काम गर्न नदिएको गुनासो सभापति देउवाको छ । सभापति देउवाले बहुमतको आधारमा कांग्रेसको महाधिवेशन २०७७ फागुन ७–१० गते गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए । देउवाले भेटमा अगाडि भने, ‘धेरै विषयमा सहमति भएको थियो । बैठकमा आएर सहमति नभएका विषयमा फरक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ ।’
भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवासँगको भेटमा ५ बुँदे विरोधपत्र बुझाएका छन् । देउवा पक्षले विभागको नेतृत्व चयनमा सहमति गर्न सकिने विकल्प हुँदाहुँदै पौडेल पक्ष छुट्टै हिँड्न खोजेको आरोप लगाएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्वका सम्बन्धमा समेत दुवै पक्षबीच विवाद रहेको छ । सभापति देउवा पक्षले छलफलको विकल्प खुला नै राखेपनि बहुमतका आधारमा भएका निर्णय फिर्ता लिने संकेत देखाएका छैनन् । पौडेल पक्षलाई हारेको समूह भनेर देउवाले खासै स्थान नदिने देखिएको छ ।




प्रतिक्रिया